नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन राष्ट्रियसभाका सदस्यहरुको माग

२६ असार २०८३

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्।

बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायाले नेपालीको उक्त घटना कसरी हुन गयो ? किन भयो ? भन्ने विषयमा सरकारले सत्यतथ्य छानबिन गरेर संसद्लाई जानकारी गराउन माग गरे।

आत्मदाह गरेर मृत्युवरण गरेका नेपालीको परिवारको आर्थिक अवस्था दयनीय रहेकाले उनको परिवारलाई पालनपोषण र हेरचाहका लागि सरकारले आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरे।

सांसद मनरुपा शर्माले बिहीबार त्रिपुरेश्वरमा घटेको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने धारणा राखिन्। सांसद रुक्मणी कोइरालाले जनतामा आत्मदाह गर्नुपर्ने बाध्यता किन सृजना भइरहेको छ ? सोको जवाफ माग गरिन्। सांसद रेनु चन्दले सेवाप्रवाहका नाममा जथाभावी कर र दण्डको त्रास आमनागरिकलाई दिन नहुने भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने बताइन्।

सांसद पूजा चौधरीले कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षकले केही बोलेकै आधारमा स्पष्टीकरण सोध्नु न्यायोचित नहुने धारणा राखिन्। सांसद विष्णुकुमारी सापकोटाले हिजो त्रिपुरेश्वरमा भएको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार सचेत बन्नुपर्नेमा जोड दिइन्।

सासंद विष्णुदेवी पुडासैनीले आगामी दिनमा राज्यको जरिवानाकै विष्णु नेपालीको जस्तो कसैको पनि ज्यान जान नहुने भन्दै यसका लागि सबैलाई मान्य हुनेगरी दण्ड, जरिवानाको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

सांसद विष्णुबहादुर विश्वकर्मा आगोले जलिरहेको मान्छेलाई अपराधी जसरी घिसारेर अस्पताल लगिएको भिडियो सार्वजनिक भएको बताउँदै यसबारे पनि सत्यतथ्य खोजी गरिनुपर्नेमा जोड दिए।

सांसद श्रीकृष्णप्रसाद अधिकारी गरिब, निमुखा जनतालाई केन्द्रमा राखी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सांसद सावित्री मल्लले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नुको कारणका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन्।