ईपीएस आवेदन म्याद थपिएसँगै राहदानी विभागले फाराम थप्यो
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाका लागि आवेदन दिने म्याद थपिएको छ । बिहीबार सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले ३ दिन म्याद थप गरी २० साउनसम्म आवेदन दिन सक्ने जनाएको छ ।
यसअघि आवेदन दिने अवधि २ अगस्ट अर्थात् १७ साउनसम्म मात्रै रहेको थियो । भाषा परीक्षाको आवेदन खुलेपछि राहदानी बनाउने र नवीकरण गर्नेहरूको चाप बढेपछि राहदानी कै कारण योग्य र इच्छुक नागरिक दरखास्त दिनबाट वञ्चित नहुन भन्दै आवेदन दिने म्याद थप गरिएको विभागले जनाएको छ ।
यसका साथै विभागले अहिले आवेदन दिन चाहनेले म्याद समाप्त भइसकेको राहदानी राखेर आवेदनसमेत आवेदन दिन सक्ने व्यवस्था गरेको छ । विभागका अनुसार भाषा तथा सीप परीक्षा उतीर्ण भई रोजगार आवेदन फारम भर्ने समयसम्ममा म्याद रहेको राहदानी पेस गर्दा हुनेछ ।
ईपीएस प्रणालीअन्तर्गत भाषा परीक्षाको आवेदन खुलेपछि राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड लागेको छ । पछिल्लो समय विभागमा नयाँ प्रणालीको स्थिरीकरणको प्रक्रियासमेत रहेकाले विभागमा राहदानी बनाउनेहरूको चाप कम गर्नका लागि समेत भाषा परीक्षाको लागि आवेदन दिने समय थप गरिएको सूचनामा उल्लेख छ ।
नयाँ प्रणालीमार्फत राहदानी जारी हुँदा विभिन्न समस्याहरू आउन सक्नेभन्दै विभागले यसअघि नै पनि आवश्यक परेको खण्डमा मात्रै राहदानीको आवेदन दिन भन्दै आएको थियो ।
अब म्याद सकिएकै राहदानी भए पनि आवेदन दिन पाइने भएकाले ईपीएस भाषा परीक्षाको आवेदन दिनकै लागि अहिले नै लाइन लागेर राहदानी नवीकरण नगर्न र अति आवश्यक परेको खण्डमा मात्र राहदानी बनाउनसमेत विभागले अनुरोध गरेको छ ।
यस्तै, राहदानीको आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने भएको छ । आजदेखि २२ साउनसम्म पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने विभागले जनाएको छ ।
नागरिकको सहजताका लागि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराउने विभागले जानकारी दिएको छ । गएको हप्तादेखि राहदानीको आवेदन दिनेहरू उल्लेख्य बढेको भन्दै विभागले अहिले दैनिक १५ सय राहदानी छापिरहेको जनाएको छ ।
ईपीएससँगै वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउनेहरूको संख्या पनि बढेको विभागले उल्लेख गरेको छ । यसका साथै अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनाका लागि विदेश जानेहरू पनि बढ्दै जाँदा पछिल्लो समय राहदानी बनाउनेको संख्या पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्: