शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल

७ आश्विन २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षाको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले पुर्‍याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा राष्ट्रसङ्घका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा भएको साइडलाइन भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गरेका हुन् ।

विश्व शान्ति र सुरक्षाका लागि समर्पित हुँदै शान्ति स्थापनाका क्रममा जीवन उत्सर्ग गर्नुभएका तथा घाइते भएका नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै मन्त्री खनालले उनीहरूको त्याग र समर्पणप्रति श्रद्धासमेत व्यक्त गरे । उनले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढङ्गले प्रतिक्रिया जनाउँदै आएको उल्लेख गर्दै उनले कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताए ।

नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घको अनुरोधअनुसार शान्ति अभियानमा परेको वित्तीय भार न्यूनीकरणका लागि नेपालले विभिन्न रचनात्मक उपाय अवलम्बन गर्दै आएको मन्त्री खनालले बताए ।

भेटवार्ताका क्रममा मन्त्री खनालले शान्ति स्थापनाका क्षेत्रमा नेपालले निरन्तर पुर्‍याउँदै आएको योगदान, प्रतिबद्धता र सहयोगलाई आगामी परिचालनका अवसरमा समेत उचित रूपमा सम्बोधन गर्न आग्रह गरे ।

शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्सले विश्व शान्ति स्थापनाको लागि नेपाल र नेपाली सरक्षाकर्मीहरूले खेलेको भूमिकालाई लिएर प्रशंसा गरे ।