केआईआईटी कलेजमा भएको घटना छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

६ फाल्गुन २०८१

काठमाडौं । सांसदहरुले भारतको ओडिसास्थीत कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई गरिएको दूव्र्यवहारकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था जानकारी गराउन कूटनीतिक पहल गर्न माग गरेका हुन् । बैठकमा नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यार्थी दबाबमा रहेको जानकारी रहेकाले तथ्यपरक छानबिन गर्न माग गरे ।

नेकपा माओवादीका सांसद माधव सापकोटाले मृतक प्रकृति लम्सालको न्यायको लािग तत्काल सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक संवाद थालनी गर्न माग गरेका छन् ।

सापकोटाले उच्चस्तरीय राजनीतिक संवाद यथाशिघ्र थालनी गरेर समस्याको समाधान गर्न माग गरे ।

त्यस्तै उनले नेपाली छात्रा लम्सालको भारतमा भएको रहस्यपूर्ण मृत्युको विरोधमा नेपाली विद्यार्थीहरु उत्रिँदा नेपालको कूटनीतिक सम्बन्ध राम्रो नहुँदा अपमानजनक व्यवहार भएकोमा आपत्ति जनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्यको कूटनीति कमजोर हुँदा नेपाली नागरिकले दुःख पाएको आरोप लगाए ।

त्यस्तै नेकपा एमालेका सांसद ठाकुर गैरेले विद्यालयका प्रशासकले गरेको अभद्र व्यवहारप्रति आक्रोश व्यक्त गरे । उनले नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति खेद व्यक्त गरे ।