काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो रहला आज देशभरको मौसम ?

२१ बैशाख २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।