हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद्को अनुसन्धान जारी

२४ बैशाख २०८२

हेटौंडा । हेटौंडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् । गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो । यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ ।

मंगलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो । टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन् । उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन् ।

अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ । म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो । प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए ।

भूगर्भविद् अधिकारीका अनुसार यो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ । जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ ।