जेनजी पुस्ता जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा सरिक भएकी छन् ।
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले शनिबार काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति शुभकामना व्यक्त गरिन् ।
उनले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’
अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् ।
नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् । उनले भनिन्, ‘नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्: