रविको मुद्दा फिर्ताविरुद्धको रिटमा नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले स्वीकृति दिँदा फेला पारेका नयाँ प्रमाण झिकाउन आदेश गरेको छ ।
आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले थप नयाँ प्रमाणका फाइल झिकाउन आदेश दिएको हो । महान्यायाधिवक्ता सबिता भण्डारीले अभियोग पत्र संशोधन गर्न निर्णय गर्नुअघि थप प्रमाण फेला परेको जिकिर गरेकी थिइन् ।
आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसको क्रममा अभियोगपत्र दायर भइसकेपश्चात थप प्रमाण फेला परेकोले अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनु भएकोले उक्त अभियोगपत्र संशोधनको सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला।’
आइतबार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई बोलाएको थियो। महान्यायाधिवक्ता भण्डारीको बहस पछि भने प्रमाण झिकाउन भनिएको हो । यसअघि माघ ६ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यही बेला अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई बोलाउने पनि आदेश गरेको थियो ।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते रविमाथि र माघ २ गते जिबी राईसहित अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिएकी हुन् । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अभियन्ता युवराज सफललगायतले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: