घृणात्मक अभिव्यक्ति दिएको भन्दै बालेनविरुद्ध आयोगमा उजुरी

१३ माघ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत भ्रामक, घृणात्मक अभिव्यक्ति दिएको भन्दै बालेनविरुद्ध आयोगमा उजुरी परेको हो । निवेदक धर्मराज तिमिल्सिनाले सोमबार आयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ । उजुरीमा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ। यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको उल्लेख छ ।

उजुरीमा भनिएको छ, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउनुका साथै लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट हिंसात्मक आरोप र अफवाहको तहमा झार्ने कार्य गर्दछ।’

नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न निषेध गरेको स्मरण गराउँदै निवेदनमा उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न माग गरिएको छ ।

ओलीले सार्वजनिक मञ्चमा बहसका लागि आफू तयार रहेको र भावी प्रधानमन्त्री घोषणा गरिएका अन्यलाई पनि सहभागी हुन आग्रह गरेका थिए ।

तर बालेनले ओलीसँग बहसमा सहभागी नहुने भन्दै यस्तो लेखेका थिए, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’