बौद्धमा ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

६ फाल्गुन २०८२

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले विविध कार्यक्रमको आयोजना गरी बौद्धमा राष्ट्रिय ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न गरेको छ ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध टाउन प्लानिङ स्थित फुटबल मैदानमा हिमालयन महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष  ता ल्हो (घोडा वर्ग) र भगवान बुद्धको महान तिथि छ्योठुल धुईछेन(ऋषि प्रतिहार्य) दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षता रहेको थियो भने परम पूज्य लोसाङ नाम्ग्याल रिन्पोछे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

ल्होछारको विधिअनुसारको कार्यक्रममा बिहानैदेखि साङ सेरगेम, धर्मपाल तथा स्थानीय देवीदेउतालाई पूजा तथा सम्पूर्ण जगत प्राणीको कल्याण अर्पण, सम्पूर्ण विघ्नवाधा, रोगव्याधि,ग्रह शान्ति, अवरोध निवारण अर्थात चार सय घ्याप्सी पूजा गरिएको थियो ।

कार्यक्रममा शेर्पा तथा तामाङ समुदायको मौलिक कला, संस्कृति, भाषा र परम्परालाई झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। यसैगरी, कार्यक्रममा लामाहरूको छाम नृत्यका साथै शेर्पा तथा तामाङ समुदायको परम्परागत भेषभूषा, नृत्य, गीत तथा धार्मिक सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो

त्यतिमात्र होइन, समितिले सार्वजनिक गरेको गूरूयोजनाले समेत उपस्थित सम्पूर्णको ध्यान केन्द्रीत गरेको देखिन्थयो। गुरूयोजनामा चुच्चेपाटी देखि बौद्ध पिपलबोट सम्म अन्डरग्राउन सडक, हायात ग्राउन्डमा अन्डरग्राउन्ड पार्किङ देखि बौद्ध महाचैत्य वरिपरिका घरहरू पुरानै कलात्मक शैलीमा निर्माण गरिने परिकल्पना देखिन्छ ।

उक्त गुरूयोजनाको परिकल्पना अध्यक्ष लामाले गरेको भन्दै समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले गुरूयोजना सफल भएमा साच्चिकै बौद्ध स्वर्ग बन्ने बताए । संस्कृति, पर्यटन तथा उड्डयन  मन्त्रालयका सचिव र अन्य मन्त्रालयमा पनि गुरूयोजना सम्बन्धि काम अघि बढाईएको र मन्त्रालयका सचिवले योजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको वचन दिईसकेको उनी बताउँछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले ल्होछार पर्व नयाँ वर्षको उल्लासका रूपमा मात्रै नभई समितिले सार्वजनिक गरेको गुरूयोजनालाई पनि साकार रूप दिन प्रतिबद्धता दिनुपर्ने बताए । विश्व सम्पदा सुचिमा सूचिकृत बौद्धनाथ क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि मात्रै नभई नेपाललाई शान्तिका लागि आध्यात्मिकता र साँस्कृतिक पर्यटनको गन्तव्यको रूपमा चिनाउने एक महत्त्वपूर्ण केन्द्र भएको उनी बताउँछन् ।

मन्त्रालय पर्यटनलाई आर्थिक समृद्धि,रोजगारी सृजना र साँस्कृतिक सम्पदालाई जोडेर अघि बढाउन प्रतिबद्ध  रहेको समेत सचिव निरौलाले बताए । साथै, धार्मिक तथा साँस्कृतिक पर्यटनको विकास मार्फत स्थानीय सशक्तीकरण तथा परम्पराको संरक्षण र दिगो पर्यटन प्रबर्द्धनमा सरकार सदैव सहयोगी रहने उनले विश्वास व्यक्त गरे ।

यसैगरी, समितिका अध्यक्ष लामाले ल्होछार कार्यक्रम नाचगान गर्नका लागि मात्रै नभई ल्होछार विधिपुर्वक मनाउनुपर्छ भन्ने धारणा सम्पूर्णलाई बुझाउनका लागि यस्ताखाले कार्यक्रम आयोजना गरिएको बताए ।

यस क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी मात्रै नभएर हिन्दु धर्म मान्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई धार्मिक सहिष्णुता कायम राख्नका लागि कार्यक्रमले मद्दत पुग्ने अध्यक्ष लामाको धारणा थियो । साथै, आम खस ब्राह्मण समुदायका दाजुभाइ दिदीबहिनीहरूले पनि बौद्ध परम्परा र हाम्रो राष्ट्रिय पर्व ल्होछारलाई आत्मासाथ गर्न जरुरी छ भन्ने विश्वास दिलाउनका लागि समिति सदैव प्रयासरहरत रहने अध्यक्ष लामाले बताए ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उल्लेख्य  सहभागिता रहेको थियो। कलाकारहरूको प्रस्तुति मार्फत स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्नुका साथै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास रहेको छ। यस्ता साँस्कृतिक कार्यक्रमले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै कार्यक्रममा,धर्म गुरूहरू, बागमती प्रदेश सदस्य तथा प्रदेश मामिला समितिका सभापतिमा छिरिङ दोर्जे लामा, वडा अध्यक्ष भुवन लामा,लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।