फटाहा हुन्, मेरो हातमा चाबुक छ, म मात्रै राम्रो हो भन्ने चिन्तनले कहाँ पुगिन्छ ?

१० फाल्गुन २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून सुधार नगरी चाबुकले तह लगाउँछु भन्यो भने अर्को दुर्घटना निम्तने बताएका छन् ।

सर्लाहीमा शनिबार आयोजित कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै सभापति थापाले विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बताएका हुन् । बालेनले धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई वर्षमा सक्नुपर्ने काम २० वर्षसम्म नसक्ने प्रवृत्ति रहेको भन्दै रास्वपाले डेढ वर्षमै सकाउने बताएका थिए । उनले समयमा काम नगर्ने ठेकेदारलाई रुखमा झुन्ड्याइदिने अभिव्यक्ति दिएका थिए ।

सभापति थापाले भने,‘हामीले अहिले छलफलमा बहसमा सुनिरहेका छौँ, हामी रुखमा लगेर बाँधिदिन्छौं, काम गरेन भने उल्टो झुण्ड्याइदिन्छु, हामीले सुनिरहेको ल्याङ्वेजहरु, सोचहरु । भाटा लिएर यो ठेकेदार बदमास हो । उसका पक्षमा बहस पैरवी गर्ने वकिल पनि फटाहा हो, अनि फैसला गर्ने न्यायाधीश पनि फटाहा हो । त्यो कानुन बनाउने सांसद पनि फटाहा हो, त्यसैले ती सबै फटाहा हुन् मेरो हातमा चाबुक छ म मात्रै राम्रो हो । म चाबुकले सबैलाई तह लाउँछु भन्ने चिन्तनले सुधार गर्छु भन्यो भनेपनि दुर्घटना हुन्छ । देशलाई चाहिएको सुधार हो, विकास हो । तर के को मूल्यमा होइन भने विधिको शासनको मूल्यमा होइन, लोकतन्त्रको मूल्यमा होइन, के गरेर होइन भने लहडमा होइन ।’