कांग्रेस उम्मेदवारविरुद्ध भ्रामक सूचना,हेरफेर गरिएका भिडियो आएका छन्,सचेत हुनुहोलाः गगन थापा

१९ फाल्गुन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचनाका भिडियो सामाजिक संजालमा फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार साँझ सामाजिक संजालमार्फत सभापति थापाले आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘आदरणीय शुभेच्छुक तथा साथीहरू, निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ।’

उनले पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देखेमा तत्काल रिपोर्ट गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,‘त्यसैले, रिपोर्ट गर्नुहोस्, फेसबुक, टिकटक, यूट्यूबलगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै रिपोर्ट गर्नुहोस् । भेरिफाइ गर्नुहोस्, कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ । सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ ।’