सभापतिको राजीनामा निकास होइन, अब शून्यबाटै उठ्ने बेला हो :सुनिल शर्मा
-डा. सुनिल शर्मा
यो कठिन घडीमा सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो । नेतृत्वको हैसियतले उहाँमाथि नैतिक दायित्व अवश्य रहन्छ, तर आज देखिएको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति हो। सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक दृष्टिले न्यायोचित हुँदैन।
हामी सबैले छातीमा हात राखेर आत्मसमीक्षा गर्न आवश्यक छ। यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो । आज देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र होइन; विगतमा भएका गलत निर्णय, जनभावना विपरीतका गतिविधि र पुरानो नेतृत्वको कमजोर कार्यशैलीको दीर्घकालीन परिणाम हो। जसले नागरिकको मन दुखायो र जनताको विश्वास कमजोर बनायो, त्यसको जिम्मेवारी पनि त्यही पुरानो नेतृत्व र सम्बन्धित व्यक्तिहरूले लिनुपर्छ ।
अब विगतलाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने समय होइन। नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको कोइराला परिवारले सधैँ लोकतन्त्र, त्याग र संघर्षको प्रतीकका रूपमा देशको राजनीति र कांग्रेसको यात्रामा महत्वपूर्ण योगदान दिएको छ। आजको संक्रमणकालीन घडीमा पनि कोइराला परिवारले आफ्नो ऐतिहासिक विरासतलाई स्मरण गर्दै पार्टीभित्र एकता, विवेक र सहकार्यको वातावरण निर्माण गर्न अग्रसर हुनुपर्छ। त्याग, आदर्श र लोकतान्त्रिक मूल्यको त्यो परम्परालाई पुनः जागृत गर्दै सम्पूर्ण शक्ति एकढिक्का बनाउने जिम्मेवारी सबैको काँधमा आएको छ।
आउनुहोस्, विगतका कमी–कमजोरीबाट पाठ सिक्दै अब शून्यबाटै नयाँ संघर्ष सुरु गरौँ। काँधमा काँध मिलाएर जनताको गुमेको भरोसा पुनः जितौँ र पार्टीलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली रूपमा स्थापित गरौँ।

प्रतिक्रिया दिनुहोस्: