स्पष्ट एजेन्डा र कार्ययोजनासहित अध्यक्षमा खत्रीको उम्मेदवारी घोषणा

२३ जेष्ठ २०८३

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही जेठ २४ गते हुने विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि पूर्व प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले अध्यक्ष पदका लागि अघि सारेको हो ।

मञ्चले अध्यक्ष पदका उम्मेदवारको टुंगो लगाए पनि अन्य पदमा उम्मेदवारीका विषयमा आन्तरिक छलफल जारी रहेको जनाएको छ । खत्रीले वैदेशिक रोजगार क्षेत्रप्रति नागरिक र राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने संकल्पसहित आफू नेतृत्वका लागि अघि आएको बताएका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले वैदेशिक रोजगार क्षेत्रले लामो समयदेखि नीतिगत अस्पष्टता, कानुनी जटिलता तथा नियमन सम्बन्धी कमजोरीका कारण विभिन्न समस्या भोग्दै आएको उल्लेख गरे ।

खत्रीले रोजगार खोजी तथा व्यवस्थापनमार्फत मुलुकलाई महत्वपूर्ण सेवा पु¥याइरहेका व्यवसायीहरू राज्यप्रति सधैं त्रसित रहनुपर्ने अवस्था सिर्जना हुनु दुःखद रहेको बताए । उनले भने ‘यस्ता समस्या नीतिगत तथा नियामकीय कमजोरीका कारण उत्पन्न भएको हो, यसर्थ अबको वैदेशिक रोजगार क्षेत्रलाई स्पष्ट दिशा र कार्ययोजनासहित अघि बढाउन म नेतृत्वका लागि मैदानमा आएको हुँ ।’

आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका खत्रीले व्यवसायको गरिमा अभिवृद्धि, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले वैदेशिक रोजगार क्षेत्रका चुनौती, अवसर र आवश्यक सुधारका विषयमा सबै व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

खत्रीले आगामी निर्वाचनमा व्यवसायीहरूको सुझाव, सहयोग, सद्भाव र विश्वासको अपेक्षा गर्दै आफ्नो पक्षमा साथ, समर्थन र शुभेच्छा प्रदान गर्न आग्रह गरेका छन् ।