स्वदेशमै रोजगारी सृजना गर्नेगरी सरकार लागेको श्रममन्त्रीको दाबी

३ असार २०८३

 युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गरेका छन् ।

बुधबार आफनो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ । हामी रिटर्नीको तथ्यांक संकलन गरी उहाँहरूके के सिकेर आउनुभएको हो ? कहाँ रूची, कस्तो अवसर खोज्नुभएको हो ? भन्नेकुरा बुझ्नुपर्दछ,’ मन्त्री यादवले भने, ‘उनीहरूको क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ ।’

मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताए । मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाइ थियो ।