त्रिविद्वारा भारतका विभिन्न विश्वविद्यालय पढेका ११४ नेपाली विद्यार्थीको समकक्षता रद्द

३२ असार २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा यसअघि जारी गरिएका ११४ जना विद्र्याीको समकक्षता पत्र रद्द गरेको छ ।

त्रिविले भारतको मेघालयस्थित सीएमजी युनिभर्सिटी र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांगाई इन्टरनेसनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट प्राप्त गरिएका उपाधिको समकक्षता पत्र रद्द गरेको हो ।

चारै विश्वविद्यालयबाट समकक्षता लिएका नेपाली विद्यार्थीले आधिकारिकता पुष्टि गर्ने कागजात पेस गर्न नसकेपछि समकक्षता रद्द गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ती उपाधिको समकक्षता रद्द गर्ने प्रक्रियाअन्तर्गत ३५ दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

निर्धारित अवधिभित्र सम्बन्धित व्यक्तिहरूले पेश गरेका कागजातबाट समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार पुष्टि नभएपछि समकक्षता रद्द गर्ने निर्णय गरिएको हो ।