दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुला
दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । मंगलबार ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला भएको जानकारी गराएको हो ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रका लागि पाँच हजार जना, कृषि तथा पशुपालन क्षेत्रका लागि दुई हजार जना, सेवा क्षेत्रका लागि एक सय जना र वन क्षेत्रका लागि एक सय जना गरी जम्मा सात हजार दुई सय जनाका लागि आवेदन खुलेको हो । तर, कोरियामा कामदारको मागअनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टममा उत्तीर्ण संख्या केही थपघट हुन सक्नेछ ।
एक व्यक्तिले एक क्षेत्रको लागि मात्र दरखास्त फाराम भर्न पाउने जनाइएको छ । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन ।
यस्तै, प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा समेत सहभागी भएर उत्तीर्ण भएपछि मात्रै छनोटमा पर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
के छ योग्यता ?
आवेदन फाराम भर्नका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ । अर्थात्, २८ जुलाई १०८६ देखि २७ जुलाई २००८ को बीचमा जन्मिएको हुनुपर्छ ।
आवेदक फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको हुनु हुँदैन भने पहिले नै कोरियामा गैरकानुनी रूपमा बसी फिर्ता पठाएको पनि हुनु हुँदैन । पहिले नै कोरिया गइसकेको हो भने ई– ९ र ई– १० भिसामा पाँच वर्षभन्दा बढी बसेको हुनु हुँदैन ।
यसका साथै कलर ब्लाइन्डनेस र कलर विकनेस भएकाहरू पनि आवेदन दिनका लागि योग्य नहुने सूचनामा उल्लेख छ ।
योग्यता पुगेकाले २७ जुलाईदेखि २ अगस्टसम्म आवेदन दिन सक्नेछन् । आवेदन ईपीएस कोरिया शाखाको पोर्टलमार्फत नै दिन सकिनेछ । आवेदन भर्दा नै आफ्नो सही मोबाइल नम्बर र इमेल ठेगाना राख्नपर्छ । तर, कोरियन भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारी सुनिश्चित नहुनेसमेत शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: