सरकारले एक वर्षमा ८ हजार बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठायो

१० श्रावण २०८३

काठमाडौं । सरकारले एक वर्षमा ८ हजारभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा जी–टु–जी (सरकार–सरकार) अन्तर्गत दक्षिण कोरिया र इजरायलमा ८ हजार १ सय ९७ जना गएका हुन् ।

जसमा ६ हजार ९ सय ४५ जना पुरूष र १ हजार २ सय ५२ जना महिला रहेका छन् । तथ्यांक अनुसार १ हजार ९० जना इजरायल गएका छन् भने ७ हजार १ सय ७ जना दक्षिण कोरिया गएका छन् ।

यो अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ४ हजार ४ सय ५६ जनाले कमी हो । उक्त आर्थिक वर्षमा १२ हजार ६ सय ५३ जना गएका थिए । सो आर्थिक वर्षमा ६ सय ३९ जना इजरायल गएका थिए भने १२ हजार १४ जना कोरिया गएका थिए ।

दक्षिण कोरियामा सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सरकारी तहबाट कोरियन भाषा परीक्षा पास भएर रोजगारीका लागि पठाउने गरिएको छ । भने सन् २०२० मा भएको श्रम सम्झौताअनुसार इजरायलमा केयरगिभरलाई पठाउने गरिएको छ ।

पछिल्लो ४ वर्षमा ५४ हजारभन्दा बढी जी–टु–जी मार्फत वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्ममा ५४ हजार १ सय ५७ जना नेपाली जी–टु–जी मार्फत वैदेशिक रोजगारीमा गएका हुन् ।