मलेसिया रोजगारी विवाद सुल्झाउन दुई प्रधानमन्त्रीबीच सहमति
प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज टेलिफोन वार्ता गरेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत मलेसियाली समकक्षीलाई स्पष्ट बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।
प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारे । यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत उनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: