वैदेशिक रोजगार विभागले २५० कम्पनीसँग माग्यो स्पष्टीकरण,७ दिनभित्र जवाफ पठाउन निर्देशन

६ आश्विन २०८३

वैदेशिक रोजगार विभागले मलेसियाद्वारा सूचीकृत २५० म्यानपावर कम्पनीलाई मलेसियाको ‘फरेन वर्कर म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस)मा छनोट गर्दा के कस्तो मापदण्ड अपनाएको थियो भन्दै ७ दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ ।

विभागले ती कम्पनीहरूलाई ७ दिनभित्र ६ बुँदे स्पष्टीकरणको जवाफ पेस गर्न भन्दै सोमबार पत्र पठाएको हो । विभागले मलेसियाको एफडब्लुसीएमएसको वेबसाइटमा नेपालबाट २५ वटा इजाजत प्राप्त संस्थालाई प्रमुख र त्यसअर्न्तगत २५० वटालाई सहायक/सहयोगी एजेन्सीको रुपमा सूचीकृत गरेको बारेमा प्रश्नसहितको स्पष्टीकरण मागेको हो ।

मलेसिया सरकारको सूची परेको एक कम्पनीका प्रतिनिधिले विभागको स्पष्टीकरण पत्र प्राप्त भएको र कानुन व्यवसायीहरूसँग छलफल गरेर जवाफ दिने तयारी गरिरहेको बताएका छन् ।

यसअघि पनि विभागले यस्तै प्रकृतिको स्पष्टीकरण २५ ‘मुख्य’ म्यानपावर कम्पनीलाई सोधेको थियो ।

मलेसियाले  गत ५ भदौमा त्यहाँको मानव संसाधन मन्त्रालयले (केसुमा)ले नेपालसहित १० स्रोत मुलुकबाट श्रमिक ल्याउने निश्चित संख्याका म्यानपावर कम्पनीलाई आधिकारिकता दिएको सूचना सार्वजनिक गर्दै स्वीकृति विदेशी श्रमिकको कोटा नयाँ आवेदन प्रणालीमार्फत नै पेस गर्नुपर्ने जनाएको छ ।

युवा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने मलेसियाले एकतर्फी रुपमा नेपालको म्यानपावर कम्पनी छनोट गरेको विषयलाई स्वीकार गरेको छैन । मन्त्रालयको निर्देशनमा सूचीकृत २५ सहित २५० म्यानपावर कम्पनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

विभागले पनि ६ भदौयता मलेसियाको लागि ल्याएका ती म्यानपावर कम्पनीमार्फत आएका मागपत्र प्रमाणीकरणको पूर्वस्वीकृति रोकेको छ । ६ भदौ अगाडि मलेसियाले जारी गरेको कोटामा मात्रै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढिरहेको छ । नयाँ प्रणालीमार्फत श्रमिक भर्ना प्रक्रिया नेपालले अगाडि बढाएको छैन ।

परराष्ट्र मन्त्रालयले मलेसियालाई पहिलेकै प्रावधानबमोजिम श्रमिक भर्ना प्रक्रियालाई अगाडि बढाउन कूटनीतिक नोट पठाएको जनाएको छ ।