आर्थिक रूपान्तरणमा डायस्पोराको योगदानलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको प्राथमिकताः परराष्ट्रमन्त्री खनाल

११ आश्विन २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका लागि महत्त्वपूर्ण साझेदारको रूपमा उपयोग गर्ने सरकारको नीति र प्राथमिकताबारे जानकारी गराएका छन् ।

अमेरिकामा रहेका गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाहरूले आयोजना गरेको भेटघाटमा सहभागी हुँदै मन्त्री खनालले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी गराएका हुन् ।

कार्यक्रममा उनले नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई नेपालको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने विषयमा सरकारको दृष्टिकोण प्रस्तुत गरेका थिए ।

मन्त्री खनालले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको आर्थिक रूपान्तरणमा डायस्पोराको योगदानलाई प्रभावकारी रूपमा परिचालन गर्ने सरकारको प्राथमिकता रहेको बताए ।