आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा भक्तिभाव प्रकट गरी मनाइँदै, मातातीर्थमा मेला
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।
छोराछोरीले आज आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन दिने एवम् मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डदान तथा ब्राम्हणलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उहाँका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आज ठूलो मेला लाग्यो । आमा नहुनेहरुले त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।
आज विशेषगरी काठमाण्डौको चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । बिहानैदेखि मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
मातातीर्थ कुण्डमा हिजोदेखि नै मेला शुरु भएको हो । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरि काम गरिएको जानकारी दिए । मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: