गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

२९ बैशाख २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएका प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

“भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।” सङ्घका अध्यक्ष श्रेष्ठले भने, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुवात भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”
तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उनको भनाइ छ ।

सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रपन्देहीमै स्वास्थ्य परिक्षणको व्यवस्था गराउन माग गरेको छ ।