कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको गृहमन्त्रीको आरोप
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए ।
उनले भने, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइँन । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौं वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसदले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौं ।’
उनले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न अफर गरेको भन्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्: