“थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो”

१३ जेष्ठ २०८१

काठमाडौँ । पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन् ।

महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ । हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी भन्छन्, “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो ।”

उनी भन्छन्, “थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न ।” कतिपय समस्या भोगेका महिलाले परिवार तथा सामाजबाट यातनासमेत पाउने गरेको उनी बताउँछन् । थाइराइडको समस्याले भन्दा पनि समाज र परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिने खतरा हुने डा भारीको भनाइ छ ।

“थाइराइडका कारण नहुने भन्ने हुन्न । हर्मोन सन्तुलन गर्ने उपचारपश्चात महिलाले बच्चा जन्माउन सक्छन्”, उनले भने । थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डा भारीले यसले हार्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताए ।