देशभर ३४ हजार दुई सय ६७ किलोमिटर सडक निर्माण, १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र
काठमाडौँ । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा सडकको विकास एवं विस्तारमा उल्लेख्य उपलब्धि हासिल भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म १८ हजार दुई सय ४१ किलोमिटर कालोपत्र, सात हजार ६ सय ९७ किलोमिटर खण्डास्मित र आठ हजार तीन सय २९ किलोमिटर कच्ची सडक गरी हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको हो ।
सर्वेक्षणअनुसार कूल सडकमध्ये कालोपत्र ५३ दशमलव दुई प्रतिशत, खण्डास्मित २२ दशमलव पाँच प्रतिशत र कच्ची सडक २४ दशमलव तीन प्रतिशत रहेको छ । २०८० असारसम्म सडकको कूल लम्बाइ ३४ हजार दुई सय ३९ किलोमिटर रहेको थियो । सरकारको आठ महिनामा २८ किलोमिटर मात्रै सडकको लम्बाइ विस्तार भएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्र स्तरमा र एक सय ९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छभने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ । साथै, सात हजार आठ सय २१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छभने ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । यस अवधिमा ६७ सडक पुल निर्माण भएको समेत आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ सय २० किलोमिटर सडक कालोपत्र स्तरमा र ६ सय २८ किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको थियोभने दुई सय ४३ किलोमिटर थप नयाँ सडक निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: