विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताएका छन् ।
विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको आइतबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै श्रममन्त्री अर्यालले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यही काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दावी गरे ।
“स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रमजस्ता विविध कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएका छन्”, श्रममन्त्री अर्यालले भने, “वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने गरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दै उद्यमशीलता प्रवद्र्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्नको लागि वैदेशिक रोजगारीवाट फर्किएका श्रमिकको पुनःएकीकरण परियोजना कोशी प्रदेश र मधेश प्रदेशका २० वटा स्थानीय तहमा कार्यान्वयन भइरहेको श्रममन्त्री अर्यालको भनाइ छ ।
श्रम स्वीकृतिको लागि निर्णयको तह घटाई दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उनले संसदमा जानकारी गराए । आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: