सहकारी पीडितसँग छलफल गर्ने संसदीय छानबिन विशेष समितिको निर्णय
काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ ।
मंगलबार बसेको समितिको बैठकले बुधबार बिहान ११ बजे सहकारी पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए । समितिले मंगलबार सहकारी विभागका पूर्व रजिस्ट्रारहरु केशवप्रसाद रेग्मी, टोकराज पाण्डे, नमराज घिमिरे, रूद्रप्रसाद पण्डित र रजिस्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।
बैठकमा उनीहरुले सहकारी क्षेत्रका समस्याहरूको समाधानमा नियमनकारी निकायका रूपमा सहकारी विभाग र रजिस्ट्रारको भुमिकाका बारेमा महत्वपूर्ण अनुभव र सुझावहरू राखेका थिए । समितिले यसअघि सहकारी विज्ञलगायतसँग छलफल गरेको थियो ।
त्यस्तै समितिले छानबिनको दायरामा परेका सहकारी संचालकहरुलाई पनि समितिमा उपस्थित भएर जानकारी गराउन निर्देशन दिइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसदले एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो ।
समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्थाबारे अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ । एमाले सांसद थापाको संयोजकत्वमा गठित समितिलाई तीन महिनाको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्: