समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो छ: सभापति खतिवडा

३० श्रावण २०८१
काठमाडौं  ।  संसदको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औंल्याएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभइ नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए ।

‘समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ’, सभापति खतिवडाले भने–’राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।’