एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।
पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएको उनको निजी सचिवालयले जनाएको छ ।
जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरिन् । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीले गरिन् ।

प्रतिक्रिया दिनुहोस्: