बाढीपहिरो तथा डुबानका कारण देशभर ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध, उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।
कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ । अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: