शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा,प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव, प्रहरीले हान्यो पानीको फोहोरा
४ कार्तिक, स्वच्छखबर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
सहकारी ठगी र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर पोखरा लगिएको छ । उनको पक्राउ विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
साथै सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।प्रशासनले पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उहाँलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्: