विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ
१३ कार्तिक , स्वच्छखबर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँग आइतबार मन्त्रालयमा भएको भेटमा उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे।
सरकारका प्रवक्ता मन्त्री गुरुङले भने, ‘विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरूरी छ ।’
कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभावी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गरे । मन्त्री गुरुङले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गर्दै जलवायु परिवर्तनका मुद्दामा सचेतना बढे पनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्: