अबको १५ दिनभित्र उद्योगीले बक्यौता नबुझाए प्राधिकरण फेरि आफ्नै प्रक्रियामा जान्छः कुलमान घिसिङ

२८ कार्तिक २०८१

२८ कार्तिक , स्वच्छखबर,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता नबुझाए फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि लाइन काट्ने प्रक्रियामा जाने बताएका हुन् ।

उनले सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्ने बताए । उनले यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत नियमन आयोगको निर्देशन अनसुार तीन महिना उद्योगीलाई सुविधा दिएको बताए ।

उनले अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेकाले यो सर्वसाधारण सरोकारवालाको चासोको विषयसमेत भएको बताए । उनले अब लाइन काट्ने र जोड्ने गर्नुभन्दा पनि दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने बताए ।

उनले बक्यौता नतिर्ने उद्योगीको पक्षमा भएका निर्णयले देशकै अर्थतन्त्र समस्यामा पर्न सक्ने चेतावनी दिए । उद्योगीले नियम अनुसारको बक्यौता तिर्नुको साटो विषयलाई अल्झाएर राजनीति गरिरहेको र यसले गम्भीर अवस्था ल्याउने चेतावनी दिएका हुन् । पहिले सामान उत्पादन गरेर स्टकमा राख्ने अनि प्राधिकरणले लाइन काटेपछि उद्योग नै ठप्प भयो, बेरोजगारी बढ्यो, महँगी बढ्ने भयो, औद्योगिक क्षेत्र धाराशायी बनाउने काम भयो भन्दै उद्योगीहरूले भावनात्मक कुरा गरेर चलखेल गर्ने गरेको घिसिङले आरोप लगाए ।

उद्योगीका भावनात्मक कुराको पछाडि लागेर बक्यौता असूल नगर्दा प्राधिकरणको बक्यौता असूलीमा ठूलो प्रभाव परिरहेको घिसिङको भनाइ छ । बक्यौता नतिर्ने उद्योगीलाई देखाएर अरूले पनि बक्यौता नतिर्दा पछिल्ला केही महिनामा प्राधिकरणको बक्यौता असूली २० प्रतिशतले घटेर ८० प्रतिशतसम्म झरेको घिसिङले बताए ।