सुरुङ जोगाउन मौसम विज्ञान विभागसँगको परामर्शमा मेलम्ची आयोजना

११ जेष्ठ २०७९

११ जेठ,स्वचछखबर,काठमाडौं । ‘मनसुन’ (वर्षायाम) सक्रिय हुने संकेत देखा परेपछि मेलम्ची खानेपानी विकास समितिले मौसमबारे परामर्श थालेको छ । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था रहेमा आयोजनाबाट पानी ल्याउन रोक्ने तयारी समितिको छ ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गर्ने योजना छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिन सुरु गरिएको छ । ‘तत्काल पानी ल्याउन रोक्ने योजना छैन,’ उनले भने, ‘नियमित वर्षा हुन थालेपछि जल तथा मौसम विज्ञान विभागको परामर्शमा पानी रोक्छौं ।’

आयोजनाका अनुसार लगातार वर्षात हुन थाल्नासाथ सुरुङको ढोका बन्द गरिने छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन ।

त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने अवस्था रहेको अधिकारीहरु बताउँछन् । मेलम्चीको माथिल्लो तटीय क्षेत्रमा रहेको जोखिमका कारण वर्षायाममा सुरुङ बन्द गर्नु बाध्यता नै छ ।

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बालुवा थिग्र्याउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार पौडेल नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको अधिकारीहरु बताउँछन् ।

उनले जसरी भएपनि सुरुङलाई सुरक्षित राखिने बताए । ‘सुरुङमार्गमा बाढीले असर पर्न दिंदैनौं,’ उनले भने, ‘के–के गर्नुपर्छ, त्यो अवश्य नै गर्छौं ।’

बढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् । मेलम्चीमा बाढी आउन सुरु गरेपछि सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किनुपर्नेछ ।

बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिने विश्वास गरिएको छ । वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ ।

आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षत्रे र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।

१ असार २०७८मा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवक्र्स क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

सम्बाददाताः मोतीलाल भारती