कुमुदको प्यानल नै आधिकारिक हो : कांग्रेस नेता लेखक

२ माघ २०७९

२ माघ, स्वच्छखबर,काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम्  संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कुमुद खनालको प्यानललाई मतदान गर्न आग्रह गरेका छन् । संघको निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले उक्त आग्रह गरेका हुन् ।

 

लेखक संघको निर्वाचनका लागि पार्टी प्रतिनिधि हुन् । नेता लेखकले आफूले उम्मेदवारको कुनैपनि आकांक्षीको पक्ष नलिएको र कसैलाई उम्मेदवार बन्न वा छोड्न दबाब नदिएको भन्दै एशोसिएसन कार्यसमितिको बैठकबाट सर्वसम्मतिले उम्मेदवार घोषणा गर्ने उच्चतम प्रयास गरिएको बताए । नेता लेखकले भने, ‘पटकपटकको छलफलपछि सहमति नभएपछि पद्धति समात्नु अनिवार्य हुँदा प्रक्रियाअनुसार खनाल अध्यक्षको उम्मेदवार बनेको अवस्था हो ।  लोकतान्त्रिक पद्धति सबैले मान्नुपर्छ, पद्धति र प्रक्रिया मिच्न पाइँदैन, जो साथी प्रक्रिया बाहिर जान खोज्नु भएको छ फर्किनुस्, समेटेर आए नयाँ नयाँ जिम्मेवारी पाउनुहुने छ ।’

 

नेता लेखकले आग्रहका बाबजुद विद्रोह गरेर निस्केकाहरू नफर्किए पनि एशोसिएसनका उम्मेदवारहरूले संघमा निर्वाचित हुन योजना र तयारी साथ अघि बढे जित सुनिश्चित हुने बताए । देशमा रोजगार नभएको अवस्थामा वैदेशिक रोजगार अनिवार्य बाध्यता भन्दै नेता लेखकले नेपाली कांग्रेसको सरकारले वैदेशिक रोजगारलाई सुधारका लागि धेरै काम गरेकाले कुमुद खनालको घोषाणापत्रमा उल्लेखित योजना सरकारमा रहँदा कार्यान्वयन गर्ने र प्रतिपक्षमा रहँदा कार्यान्वयनमा लैजान दबाब दिने बताए ।

 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक तथा एशोसिएसनका पूवअध्यक्ष विमल ढकालले आफ्नो नेतृत्वमा संघले वैदेशिक रोजगारमा रहेका धेरै समस्याको समाधानका लागि गृहकार्य अन्तिम अवस्थामा पुर्‍याएको उल्लेख गर्दै संघको आगामी कार्यसमितिलाई काम गर्न सहज हुने बताए । विमानस्थलमा रहेकोे श्रम डेस्क हटाएको, वैदेशिक रोजगार ऐनमा रहेकोे वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था खारेजीको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत कानून मन्त्रालय पुर्‍याएको, सेवा शुल्क परिमार्जन गर्न उच्चस्तरीय कार्यदलले सकारात्मकरूपमा काम गरेकोे, कल्याणकारी कोषको नियमावली श्रम मन्त्रालयबाट पूर्णता दिएर रायका लागि अर्थमन्त्रालय गएकाले छिटोभन्दा छिटो स्कीकृत भएर आउने अवस्थामा रहेकोे जस्ता काममा प्रगति गरिएकाले व्यवसायी उत्साहित हुने वातावरण बनेको बताए ।

 

ढकालले उल्लेखित विषयलाई टुंगोमा पुर्‍याउन विदेशमा उच्च शिक्षा आर्जन गरेर व्यवसाय शुरू गरेका कारणले खनाल सक्षम हुने, सबै पक्षमा व्यवसायीको उचित प्रतिनिधित्व गर्न सक्ने हैसियतमा रहेकाले उनलाई जिताउनु व्यवसायीहरूलाई आग्रह गरे ।

 

अध्यक्षका प्रत्यासी खनालले पनि छलफल सहमतिका आधारमा लोकतन्त्रमा आस्था राख्ने व्यवसायी एउटा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने विषयमा खुला रहेकोे बताए । आफू विगत २३ वर्षदेखि व्यवसायमा रहेकोे र संघमा विगतमा विभिन्न जिम्मेवारीमा रहँदा औंला उठाउने एउटा पनि कमजोरी नगरेको भन्दै अध्यक्षका उम्मेदवार खनालले फेमिस समस्या समाधान, भलाइ कोषको कार्यान्वयन, सेवा शूल्कको तार्किक निष्कर्ष पुर्‍याउने, वैदेशिक रोजगारीमा जाने कामदारको लागत परिभाषित गराउने, विगतमा फ्रि भिसा फ्रि टिकट निर्णय लागू गर्दा श्रम मन्त्रालयले गरेको ३१ बुँदे सहमतिमा पुनरावलोकन गर्नेसहित संघको भवन निर्माण र व्यवसायीका दैनिक समस्य कुनै विलम्ब नगरी समाधान गर्ने बताए ।

 

संघका निवर्तमान कार्यवाहक अध्यक्ष कमल तामाङले लोकतान्त्रिक प्यानलका उम्मेदवार संघमा निरन्तर काम गरी समस्या र समाधान बुझ्ने अनुभवी टिम रहेकाले व्यवसायीले मतदान गर्नुपर्ने बताए ।

 

प्रथम उपाध्यक्षका उम्मेदवार किशोर केसीले व्यवसायीका व्यवहारिक समस्य समाधानका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए । द्वितीय उपाध्यक्षका उम्मेदवार अख्तर हुसेनले व्यवसायीका विरूद्धमा सरकार रहेकोे भन्दै अलमल चिरेर व्यवसायीहरूको आत्मस्वाभिमान बृद्धि गर्न डिजिटल प्रतिकारमा उत्रने बताए ।

 

तृतीय उपाध्यक्षका उमेदवार सञ्जय पनेरुले व्यवसायीलाई आइपर्ने जुनसुकै समस्याको तत्काल समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाए । महासचिवका उम्मेदवार मेघनाथ भुर्तेलले संघले गर्ने काम तत्कालै शुरूवात गर्ने भन्दै भवन निर्माणको कामलाई तत्कालै अघि बढाउने र संघले दबाब दिएर कार्यान्वयनमा लैजाने व्यवसायी कल्याणकारी कोषको कार्यान्वयन, वैदेशिक रोजगार ऐन र नियमावलीमा रहेका व्यवसायीका लागि परस्पर विरोधी प्रावधान परिवर्तनको लागि लविङ र दबाब सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

 

सचिवका उम्मेदवार कर्णराज कटुवालले आफू संघको अघिल्लो कार्यसमितिमा निर्वाचित भएपछि वैदेशिक रोजगार विभागमा देखिने समस्या समाधानका लागि दैनिक तीन घण्टा खटिएको र सचिव पदमा निर्वाचित भए त्यसमा दुई घण्टा थप गरेर दैनिक ५ घण्टा व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । कोषाध्यक्षकी उमेदवार हिमा गुरूङले कोषको सदुपयोग गर्ने प्रतिवद्धता जनाइन् ।

 

कार्यसमिति सदस्यहरूले व्यवसायीहरूका व्यवहारिक समस्या समाधानका लागि खटिने एकै लयमा प्रतिवद्धता जनाए । एशोसिएसन महासचिव कमल काफ्लेको सभापतित्वमा भएको  कार्यक्रम वरिष्ठ उपाध्यक्ष तारानाथ अर्यालले सञ्चालन गरेका थिए भने सचिव लक्ष्मण पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

 

एशोसिएसनका तर्फबाट अध्यक्ष खनाल फ्युजन इन्टरनेशनल प्रा.लि., प्रथम उपाध्यक्ष केसी एसआरके नेपाल ओभरसिज प्रा.लि., द्वितीय उपाध्यक्ष हुसेन ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि., तृतीय उपाध्यक्ष पनेरू गुडलक इन्टरनेशनल प्रा.लि., महासचिव भुर्तेल नील कमल ह्युमन रिसोर्स प्रा.लि., सचिव कटुवाल डायनामिक स्टाफिङ सोलुसन प्रा.लि. र कोषाध्यक्ष गुरूङ वीनर सोलुसन प्रा.लि.का सञ्चालक हुन् ।

 

त्यसैगरी सदस्यका उम्मेदवारहरूमा विक्रम श्रेष्ठ, चन्द्रबहादुर लिम्बू, कैलाश पाठक, तोरण कुमार कार्की, नारायण भुसाल, राजकाजी भोलान, मो. इजरायल र फिरोज खान सदस्यका उम्मेदवार छन् । सदस्य उम्मेदवारहरूमा श्रेष्ठ शुभहारती म्यानपावर प्रा.लि., लिम्बू उज्यालो ओभरसिज प्रा.लि., पाठक सिल्भर कर्नर इन्टरनेशनल प्रा.लि., भुसाल युरो एशिया म्यानपावर प्रा.लि., कार्की फाईन जब रिक्रुटमेन्ट प्रा.लि., सञ्चालक भलोन राज ग्रुप अफ कम्पनी प्रा.लि., मो. इजरायल ओमामा म्यानपावर प्रा.लि. र फिरोज खान फ्युचर लिंक प्रा.लि.का सञ्चालक हुन् ।