परराष्ट्र नीतिमाथि परामर्शको तयारीमा मन्त्रालय

१८ माघ २०७९

१८ माघ,स्वच्छखबर । परराष्ट्रमन्त्री विमला राई पौड्यालले मुलुकको परराष्ट्र नीति–२०७७ लाई नयाँ परिवेशअनुसार सान्दर्भिक बनाउनका लागि परामर्श गर्ने बताएकी छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको छलफलमा परराष्ट्रमन्त्री पौड्यालले परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउन र त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गर्ने तयारी भइरहेको उल्लेख गरेकी हुन् ।

‘दुई वर्षअघि बनेको परराष्ट्र नीतिको रिफ्लेक्सन गर्नुपर्ने भएको छ । त्यसलाई वर्तमान परिस्थितिअनुकुल बनाउनुपर्छ भन्ने लागेको छ,’ मन्त्री पौड्यालले भनिन्, ‘त्यसलाई अहिले रिफ्लेक्सन गरेर कन्सलटेसनमा जान्छौं ।’

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७७ मंसिरमा पहिलोपटक ल्याएको परराष्ट्रनीति कार्यान्वयन नभएको भन्दै आलोचना भइरहेको छ । कूटनीतिक आचारसंहिता २०६८ को प्रभावकारी कार्यन्वयनका विषयमा समेत प्रश्न उठ्ने गरेको छ ।

परराष्ट्रमन्त्री पौड्यालले जिम्मेवारी सम्हालेपछि पहिलोपटक आयोजना गरिएको पकारसँगको छलफलमा यस विषयमा परामर्श गर्ने बताएकी छन् ।

यो परराष्ट्रनीति लिखित रुपमा पहिलोपटक ल्याइएको भए पनि कार्यान्वयनमा शीर्ष राजनीतिक नेतृत्व नै तयार नहुने गरेको गुनासो उठिरहेको छ । साथै, नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको तत्कालीन नेकपाभित्रै परराष्ट्र नीति बनाउँदा आवश्यक छलफलबिना नै ल्याइएको भन्दै आलोचना भएको थियो ।