देशैभर धेरै ठूलो पानी पर्ने सम्भावना,टीकापुरमा कर्णाली नदी पस्ने जोखिम :उच्च सतर्कता अपनाउन आग्रह

२८ श्रावण २०८०

२८ श्रावण, स्वच्छखबर, काठमाडौं । मर्स्याङ्दी नदीको जलसतह सतर्कता तह आसपास पुगेको छ । बिमलनगर बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र यो अझ बढ्दो क्रममा रहेको छ । मर्स्याङदी नदीको तटीय क्षेत्रमा रहेकाहरुलाई दिउँसो १ बजे सम्म सतर्कता अपनाउन अपिल गरिएको छ ।

यसैबीच बागमती जलाधारको सिन्धुली, मरिन कुशुनटार र आसपास भारी बर्षा मापन भएको छ । कोखाजोर खोला, मरिन खोला र आसपासका स-साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरका नदी खोलाहरुमा आज आकस्मिक बहावको जोखिम रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुले अपिल गरेका छन् । नारायणी, कर्णाली, बाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने देखिएको छ ।

साथै केही नदीमा आज र भोलि जलसतह खतरा तह आसपास समेत पुग्न सक्ने पूर्वानुमान रहेकोले जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।

देशैभर आज ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका विभिन्न स्थानमा भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ ।

यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।