अन्तरदेशीय प्रसारण संरचना निर्माण गरी भारत,चीन र बंगलादेश विद्युत निर्यात गर्छौंः प्रधानमन्त्री दाहाल

१ भाद्र २०८०

१ भाद्र, स्वच्छखबर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको र चीनसँग पनि महत्वपूर्ण सम्झौता हुने बताएका हुन् ।

उनले भने, ‘यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ । हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीले मित्रराष्ट्र भारतसँगको समझदारीलाई मूर्तरूप दिन हाम्रा सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेका बताए ।

उनले भने,‘अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालिसकेका छन् । बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन निकट भविष्यमै निर्माणको चरणमा जानेगरी नेपाल र भारत दुबैतर्फ आवश्यक कार्यहरू अघि बढाइएको छ । थप दुई नेपाल–भारत ४०० के.भी. प्रसारण लाइनहरू इनरुवा–पूर्णिया र दोधारा–बरेलीको निर्माण प्रारूप आगामी २ महिनाभित्र उर्जा सचिवस्तरीय संयन्त्रमार्फत सहमतिमा पुर्याउन मैले आवश्यक निर्देशन दिइसकेको छु ।’

उनले नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भएपनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकेको बताए । उनले यसको अन्त्य गर्न अहिले योजनावद्ध रूपमा काम गरिरहेको र अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका बताए ।

प्रधानमन्त्री प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि लोडसेडिङ अन्त्य भएको बताए । उनले भने, ‘दैनिक १८ घण्टा बत्ती जाने त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानजीलाई ल्याएपश्चात् हाम्रो संकल्प इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका थियौँ ।’

उनले आगामी दुई वर्षभित्र सबै नेपाली जनताको घरदैलोमा विद्युत पुर्याउने लक्ष्यअनुरूप नेपाल विद्युत प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको बताए ।