मोक्तान र ङेसुरलाई तामाङ मिडिया अवार्ड, ह्याङ्ला काई विमोचन

१ भाद्र २०८०

१ भाद्र, स्वच्छखबर,काठमाडौँ ।  रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको दिनको सम्झनामा तामाङ पत्रकार संघले दुई जना पत्रकारलाई आज सम्मानित गरेको छ ।

२०५१ भदौ १ गते तत्कालीन सरकारले रेडियो नेपालबाट आठ वटा मातृभाषाका समाचार प्रशारण सुरु गरेको थियो । त्यसमा तामाङसहित, थारू, नेवा, गुरुङलगायतका भाषाका समाचार रहेका थिए । सोही दिनलाई यी समुदायले प्रशारण दिवसको रुपमा मनाउँदैआएका छन् ।

कार्यक्रममा ‘तामाङ मिडिया अवार्ड २०८०’ बाट धनकुटाका पत्रकार सन्तवीर लामा तामाङ र काभ्रेकी मायालु तामाङ सम्मानित भएकी छिन् । नगद पाँच हजार राशी र सम्मानपत्रले दुवै जना पत्रकार सम्मानित भएका हुन् । पत्रकारद्वयलाई बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइँमन्त्री तीर्थबहादुर लामा तामाङले सम्मानित रेका थिए।

मन्त्री लामाले तामाङ समुदायसहित आदिबासी समुदाय अझै राज्यको मूलधारमा पुग्न नसकेकाले प्रयास जारी राख्नुपर्ने बताए । आदिबासी समुदायलाई जनसंख्याको आधारमा समानुपातिक सिद्धान्तका आधारमा राज्यको सबै निकायमा प्रतिनिधित्व गराउन आदिबसी समुदायले दवाव जारी राख्नुपर्ने उनको सुझाव छ ।

आफू मन्त्रीको जिम्मेवारीमा रहँदा बागमती प्रदेश सरकारको तर्फबाट गर्न सकिने सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। राष्ट्रियताको पहिचान नागरिकता मात्र नरहेको वल्की सबै समुदायको पहिचान र अस्तित्व सुनिश्चित गर्नुपर्ने उनले बताए ।

भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले तामाङ समुदायको भाषा सिफारिसका आधारमा चाँडै प्रदेशमा सरकारी कामकाजको रुपमा प्रयोगमा आउने विश्वास दिलाए। तामाङ समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षणमा समुदाय स्वयम् जागरुक हुनुपर्ने उनले चर्चा गरे ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले पछिल्लो समय अधिवक्ता भगवती पाण्डेले दिनुभएको अभिव्यक्तिमा सरकारले तामाङ समुदायमाथि अन्याय गरिरहेको बताए। टेकुमा भएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको चर्चा गर्दै उनले सरकारले माग सुनुवाई नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिए।

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योन्जनको अध्यक्षतामा भएको कार्यक्रममा मानवशास्त्री डा.मुक्तसिंह तामाङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ, सम्मानित व्यक्तित्व सन्तवीर लामा, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, पत्रकार प्रतीक तामाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सञ्चु ब्लोन, संघका वरिष्ठ उपाध्यक्ष बुद्ध योन्जन, फूलकुमार बम्जन, नेत्र तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।