धार्मिक, सामाजिक सद्भाव र एकताको लागि सबैको पहल,राति १२ बजेसम्म निषेधाज्ञा

९ भाद्र २०८०, शनिबार ०१:०७

९ भाद्र, स्वच्छखबर, धरान । धरानमा सामाजिक आस्था र भावनामा ठेस पुर्याउने गतिविधि हुन नदिन सबै पक्षले पहल गरेका छन् । विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक अगुवाहरुले धार्मिक र सामाजिक सद्भाव कायम राख्नको लागि पहल गरेका हुन् । स्थानीय प्रशासनले पनि सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाएको छ भने धर्ना, जुलुस, भेला गर्न नपाउने गरी धरानमा निषेधाज्ञा लगाएको छ।

धरानमा कृयाशील १३ वटा राजनीतिक दलले साझा विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिथोल्ने कुनै पनि कार्यक्रम नगर्न सबैसँग अनुरोध गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि सामाजिक सद्भाव खलबलिने कुनै सामग्री शेयर नगर्न आग्रह गरेका छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र धर्ना, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी गएराति १२ बजेदेखि भरे राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश दिनुभएको हो । निषेधाज्ञासहित धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपील गर्नुभएको छ । पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै उहाँले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गर्नुभएको हो । सबैजना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुनेगरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न मेयर राईले धरानवासीलाई अपील गर्नुभएको हो ।

धरानका पाँच जना पूर्व मेयरहरुले पनि संयुक्त विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन् । विभिन्न सङ्घसंस्था र नागरिक समाजले पनि सामाजिक सद्भाव र एकताको लागि पहल गरेका छन् ।

 

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.