इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग

१० भाद्र २०८०

१० भाद्र, स्वच्छखबर, काठमाडौँ। नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घ केन्द्रीय समितिले आज इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले सर्वसुलभ उच्च शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार नागरिकको भए पनि सरकारले एक्कासि एक सय ४४ प्रतिशत शुल्क वृद्धि गर्दा विद्यार्थीहरू ठूलो मारमा परेकाले आन्दोलन गर्नुपरेको बताए।

“इञ्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहन्दार विद्यार्थीहरू अध्ययनबाट बञ्चित हुने हुँदा शुल्क वृद्धिको निर्णय निन्दनीय छ”, अध्यक्ष शेर्पाले भने । नेविसङ्घले शुल्क वृद्धिको विरोधमा विगत पाँच दिनदेखि आमरण अनशन बसेका सुलभ चापागाईंको जीवनरक्षाको माग गरेको छ ।

अध्यक्ष शेर्पाले सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने बताए। नेविसङ्घले इञ्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता लिनुपर्ने, त्रिभुवन विश्वविद्यालय र इञ्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा स्थापित गरी अनुदान बढाउन आग्रह गरेको छ ।

सबै विश्वविद्यालयमा इन्टर्नसीप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने नेविसङ्घले बताएको छ ।