नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनीतिक तवरबाट कुरा राख्नुहुन्छः प्रवक्ता सापकोटा

१५ भाद्र २०८०

१५ भाद्र, स्वच्छखबर, काठमाडौँ ।  चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा कुरा उठाउने भएका छन् ।

शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मलेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनीतिक तवरबाट कुरा राख्ने बताएका हुन् ।

प्रवक्ता सापकोटाले चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै कुटनीतिक तबरबाट यसको समाधान खोज्ने बताए ।

उनले भने, ‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ ।’

केही दिन अघि चीनले भारतको अरुणाचललाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सामा नेपालको चुच्चे नक्सा भने समावेश गरिएको छैन । सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको दाबी गरे । उनले सत्ता साझेदार दल नेपाली कांग्रेससँग खटपट नभएको बताए ।