जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्रीको आग्रह

२४ भाद्र २०८०

२४ भाद्र, स्वच्छखबर, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । आइतबार हेटौंडामा आयोजित समाजवादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।

“हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्रीले भने । सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उनको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

“वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि जनताका लागि जनपक्षीय व्यवस्था कायम गर्दै जनताको अवस्था सुधार गर्ने पक्षमा छ”, उनले भने ।

सरकार जनताको गणतन्त्र बनाउन चाहने दलहरुको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ ।

समाजवादको आधार तयार पार्दै जनताको गणतन्त्र बनाउने अभियानमा लागिरहेको कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु जनाताको हितका लागि एकबद्ध भएर एउटै धारमा समाहित हुने विन्दुमा आइपुगेको भनाइ व्यक्त गरे । कम्युनिष्टहरु एक–अर्कालाई अपमान गरेर फेरि फुटेमा त्यसको मर्का जनतालाई पर्ने उनको भनाइ छ ।