प्रधानमन्त्री दाहाल राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

३० भाद्र २०८०

३० भाद्र, स्वच्छखबर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शनिबार साँझ न्युयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको उपस्थिति थियो । प्रधानमन्त्रीले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।