संसदले शिक्षा विधेयकका कमजोरी सुधार गर्छ, विद्यालय बन्द नगरौंः गगन थापा

४ आश्विन २०८०

४ असोज, स्वच्छखबर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक संसदले सच्याउने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले विधेयकमा थुप्रै सुधार आवश्यक रहेकाले संसदले यसलाई सच्याउने भएको शिक्षकहरुलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं । अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।’