राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

६ आश्विन २०८०

५ असोज, स्वच्छखबर,दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको शनिबार एक समारोहबीच राष्ट्रपति पौडेलले  उद्घाटन गरेका हुन् ।

सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरे  ।

सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।

भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।

सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।