आममाफी दिने सरकारको निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, पुनर्विचार गर्नुपर्छः महामन्त्री शर्मा

८ आश्विन २०८०

८ असोज, स्वच्छखबर, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर नेपाली कांग्रेसले भन्ने तथ्य ठीक नभएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले भने, “सङ्घीयता ठीक ढङ्गले चलिरहेको छैन भन्ने कुरा ठीक हो, यसमा हामीले सुधार गर्नुपर्ने कुरा धेरै छ, तर यो चाहिँ कसैले बोकाइदिएको भारी हो भन्ने कुरा चाहिँ तथ्यका हिसाबले मिल्दैन ।”

नेपालका मूल धारका तत्कालीन राजनीतिक दलहरुमध्ये अधिवेशनबाट निर्णय गरेर एकात्मक राज्य प्रणलीबाट प्रस्थान गरी सङ्घीय लोकतान्त्रिक जनप्रतिनिधिमूलक शासन व्यवस्था कायम गर्ने भनेर निर्णय गर्ने कांग्रेस पहिलो पार्टी  भएको उनले स्पष्ट पारे ।

“संसद्बाट बनाउनुपर्ने ४० वटाभन्दा बढी महत्वपूर्ण कानुन नबनाएर आफैँले आन्दोलनबाट स्थापित प्रणालीलाई असफल हुने बाटोतिर लिएर गएर हामीले कसलाई दोष दिइरहेका छौँ ?”, महामन्त्री थापाले प्रश्न गरे । उनले कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव ठीक बनाउन लाग्नुपर्ने बताए ।

“यो संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारी कांग्रेसबाहेक अरूले लिन पनि सक्दैन र लिँदा पनि लिँदैन, त्यो जिम्मेवारीबाट अलग भएर हाम्रा छलफलहरु हुन सक्दैनन्”, महामन्त्री थापाले भने ।
उनले सङ्घीय सरकारका मन्त्रीहरुलाई सहभागी गराएर खुलेर छलफल गर्न, समस्याहरु समाधान गर्न, सुझावहरु दिन केन्द्रीय समितिको एउटा बैठक आयोजना गर्नुपर्ने बताए ।

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, “गणतन्त्र बलियो बन्नका लागि थुप्रै राम्रा कर्महरू चाहिन्छ । त्यसका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नु पनि अनिवार्य र महत्त्वपूर्ण कार्य छ । आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ ।”

पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले समुदायको सद्भावलाई अझै खँदिलो बनाउनुपर्नेमा जोड दिए । बैठकबाट हुने निर्णय सबैको स्वामित्वबोधका साथ जाने गरी हुने विश्वास व्यक्त गर्दै महामन्त्री शर्माले व्यवस्थामा सुधार गर्नुपर्ने बताए ।