जघन्य अपराधका व्यक्तिलाई आममाफी नदिन भन्दै रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

१५ आश्विन २०८०

१५, असोज, स्वच्छखबर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई तीन बुँदे ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताले सोमबार राष्ट्रपति पौडेललाई भेटेर आममाफीका विषयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।

त्यस्तै सरकारबाट भएका सिफारिस संविधानसम्मत भए÷नभएको सन्दर्भ यकिन गरी मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ । जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई असोज ३ गते संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको व्यहोरा रास्वपाले राष्ट्रपति पौडेललाई बुझाएको पत्रमा उल्लेख छ ।