भूकम्प प्रभावित क्षेत्रमा समन्वय गरेर काम गर्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन

१८ आश्विन २०८०

१८, असोज, स्वच्छखबर, काठमाडौँ।  मङ्गलबारको बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा छलफल भएको छ ।

बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन निर्देशन दिए। त्यस्तै प्रधानमन्त्रीले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्न आग्रह गरेका छन् ।

प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको प्रधानमन्त्रीको भनाई थियो ।

बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अहिले पनि जारी छ । मङ्गलबार दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसछि ४ रेक्टर स्केलमाथिका ११ पटक भूकम्प गइसकेको छ । भूकम्पबाट एकजनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ ।